चलचित्र विधयेक मस्याैदा २०७५ः छलफल एवं अन्तरक्रिया कार्यक्रम

प्रेस विज्ञप्तिः मिति २०७५।११।१७

चलचित्र क्षेत्रलाई सिर्जनशील साँस्कृतिक एवं मनोरञ्जनात्मक उद्योगको रुपमा विकास गर्न, चलचित्र क्षेत्रको विकास, विस्तार, संरक्षण र सम्बद्र्धन गर्न तथा चलचित्र क्षेत्रलाई नियमिति र व्यवस्थित गर्ने उद्देश्यले चलचित्र विकास बोर्डले तयार पारेको “चलचित्र क्षेत्रलाई व्यवस्थापन र नियमन गर्न बनेको विधयेक, २०७५” को मस्यौदा सम्बन्धमा आज मिति २०७५।११।१७ गते शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्रीमान् महेन्द्रमान गुरुङज्यूको संयोजकत्वमा सरोकारवालाहरुबीच बोर्डको कार्यालयमा एक दिने छलफल एवं अन्तर्क्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो ।

उक्त कार्यक्रममा सहभागीहरुले चलचित्र उद्योग र श्रमजीवि चलचित्रकर्मीहरुको हक हितका लागि विधयेकमा समावेश भएका विषयका सम्बन्धमा सकृय रुपमा सहभागी भई सुझाव राख्नुभयो । साथै विधयेकका सम्बन्धमा थप राय सुझावका लागि आ–आफ्नो संस्थागत धारणा सहित सचिवज्यूले दिनुभएको समय ५ दिनभित्र बोर्ड समक्ष लिखितरुपमा समेत पेश गर्ने प्रतिवद्धता व्यक्त गर्नुभई विधयेक तर्जुमाको चरणमा सहभागी जनाउने अवसर प्रदान गरेकोमा मन्त्रालय र बोर्डलाई धन्यवाद प्रदान गर्नुभयो । राष्ट्रिय चलचित्र नीति,२०७१ मा समाविष्ट अधिकांश विषयहरुलाई यस विधेयकमा समेटिएको हुँदा प्राप्त हुने थप राय सुझाव बाट चलचित्र क्षेत्रको विकास, संरक्षण, प्रवर्द्धन, व्यवस्थापन र नियमनबाट समग्र चलचित्र क्षेत्रले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सक्ने विश्वास बोर्डले लिएको छ ।

महेन्द्र प्रसाद साँखी
सदस्य–सचिव

Related Posts