| चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव
10 months ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु
10 months ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा, तथा छायाँछवि क्रियशनको आयोजनामा सोह्रौं संस्करणको डि सिने अवार्ड समारोह सम्पन्न
10 months ago |
| सिनेपा : स्टुडियो निर्माण आरम्भ उदघोष समारोह सम्पन्न
10 months, 1 week ago |
| चलचित्र विकास बोर्डमा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धिको लागि २ दिने कार्यशाला सम्पन्न
10 months, 1 week ago |
चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपामा निर्माण गर्न लागेको आधुनिक इन्डोर फिल्म स्टुडियोका लागि आह्वान गरिएको दोस्रो चरणको बोलपत्र प्रक्रियाअन्तर्गत ११ वटा निर्माण कम्पनीहरू प्राविधिक मूल्याङ्कनमा उत्तीर्ण भएका छन्। बोर्डका अनुसार ती प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव पुस ७ गते दिउँसो २ बजे सार्वजनिक रूपमा खोलिनेछ।
नेपाली चलचित्र उद्योगका लागि दीर्घकालीन पूर्वाधार विकास गर्ने उद्देश्यसहित अघि बढाइएको यस परियोजनाका लागि बोर्डले रु १६ करोड ४९ लाख ८७ हजार १ सय बयानब्बे लागत अनुमानसहित राष्ट्रिय प्रतिस्पर्धात्मक ई–बिडिङ प्रणालीमार्फत टेन्डर आह्वान गरेको थियो। प्राप्त बोलपत्रहरूमध्ये आवश्यक योग्यता, अनुभव, प्राविधिक क्षमता, मानव स्रोत तथा वित्तीय विश्वसनीयताको आधारमा विस्तृत मूल्याङ्कन गरी ११ कम्पनीहरू प्राविधिक चरणमा छनोट भएका हुन्।
प्राविधिक रूपमा योग्य ठहरिएका कम्पनीहरूको आर्थिक प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालय, चावहिल, काठमाडौंमा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ज (उपनियम ५) बमोजिम सार्वजनिक रूपमा खोलिने बोर्डले जनाएको छ। आर्थिक प्रस्तावको मूल्याङ्कनपछि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण कम्पनीसँग सम्झौता गरी १ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
बनेपामा निर्माण हुने यो इन्डोर फिल्म स्टुडियो नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण र रणनीतिक पूर्वाधारका रूपमा हेरिएको छ। स्टुडियो सञ्चालनमा आएपछि सेट निर्माण, इन्डोर छायांकन, मौसम–निरपेक्ष शूटिङ तथा आधुनिक प्राविधिक सुविधा स्वदेशमै उपलब्ध हुने अपेक्षा गरिएको छ। यसले चलचित्र निर्माण लागत घटाउने, समय बचत गर्ने र विदेशी स्टुडियोमा निर्भरता कम गर्ने बोर्डको विश्वास छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी का अनुसार, “इन्डोर स्टुडियो सञ्चालनमा आएपछि नेपाली चलचित्रसँगै टेलिभिजन सिरियल, वेब सिरिज, विज्ञापन तथा अन्तर्राष्ट्रिय सह–निर्माणका लागि समेत सहज वातावरण सिर्जना हुनेछ।”
बोर्डले यस परियोजनालाई नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने दिशातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ। इन्डोर स्टुडियो निर्माणसँगै चलचित्र छायांकन, प्रविधि प्रयोग र उत्पादन गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको बोर्डले जनाएको छ।
